४८ हजार कर्मचारीको समायोजन सकियो

काठमाडौं, फागुन १८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ प्रदेश र स्थानीय तहमा करिव ४८ हजार कर्मचारीको समायोजन सकिएको जनाएको छ ।

निजामति सेवामा मात्र ६२ हजार कर्मचारी रहेकोमा ४८ हजारको समायोजन सकिएको मन्त्रालयले जनाएको हो ।

सामान्य प्रसाशन, परराष्ट्र, लेखा लगायत समूहको समायोजन सकिएको सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन महाशाखा प्रमुख केदार प्रसाद पनेरुले जानकारी दिए ।

अहिले कृषि, इन्जिनियरिङ, वन र विविध सेवाको समायोजनको काम भइरहेको उनको भनाई छ । अहिले ५ हजार कर्मचारीको डाटा प्रोसेसिङ भइरहेको पनेरुले बताए । स्वास्थ्य सेवाको ९औं र १०औं तहको तथ्याङ्क संकलन भइसकेपनि नतिजा सार्वजनिक हुन बाँकी रहेको तथा ७ औं र ८औं तहको तथ्याङ्क संकलनको काम भइरहेको महाशाखा प्रमुख पनेरुले जानकारी दिए ।

अन्य सबै सेवा र समूहको समायोजन सकिएपछि स्वास्थ्य सेवाको चौथो, पाँचौं र छैंटौं तहको समायोजन गर्ने सामान्य प्रशासन मन्त्रालयको तयारी छ । सो सेवा र समूहमा करिब २४ हजार कर्मचारी रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

पनेरुले अबको केही दिनभित्रमा सबै सेवा र समूहको समायोजनको काम सक्ने बताए । कतिपय कर्मचारीले किताब खानामा आफ्नो विवरण अध्यावधिक नगराएका कारण तथा दर्ता भएको रेकर्ड र कर्मचारीको वास्तविकता फरक परेकाले समायोजनको काममा कठिनाइ भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्