१७ औँ आहा रारा गोल्डकप: थ्रि स्टार र आर्मीबीच फाईनल भिडन्त, कसले उचाल्ला ट्रफी ?

काठमाडौं, फागुन १८ । पोखरामा चलिरहेको १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा शनिवार त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आर्मीले क्यामरुनको दाउफिन्सलाई १–० र थ्रीस्टारले एपीएफलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

ए डिभिजन लिगपछि मोफसलका प्रतियोगिताहरुमा निकै राम्रो खेल खेलिरहेको दुवै टिमले उपाधि रक्षा गर्नु आफूहरुको लक्ष्य रहेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दाबी गरेको छ । आर्मीका प्रशिक्षक नविन न्यौपानेले भने, ‘अहिलेसम्म आहा राराको इतिहासमा आर्मीले उपाधि जित्न सकेको छैन, यो वर्ष जित्ने लक्ष्यमा छौँ ।’ थ्रीस्टार राम्रो टिम भएको हुँदा अवसरहरु कमै प्राप्त हुने र पाएको अवसरलाई सदुपयोग गर्दै अगाडी बढ्ने उनको भनाइ छ ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आर्मीसँगको खेल प्रतिस्प्रधात्मक हुने बताउँछन् । आफ्नो लक्ष्य उपाधि रक्षा गर्ने बताउँदै शनिबारको खेल पोखरेली दर्शकले हेर्न लायक हुने उनले बताए । आर्मी राम्रो टिम भएकोले त्यहीअनुसारको रणनीतिका साथ अगाडि बढेर उपाधि जित्ने उनको दाबी छ ।

फाइनल खेल शनिबार दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई स्कूटर, वेस्ट अफ् फाइभ विधातर्फ जनही १५ हजार र ट्रफी दिइनेछ ।

यस्तै सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्