हेलिकप्टर दुर्घटना : पोखरामा मन्त्री अधिकारीको जीवनी वाचन, राष्ट्रिय झण्डा ओढाइयो

काठमाडौं, फागुन १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री इश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएका छन् ।

पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा राखिएको उनको पार्थिव शरीरमा उपप्रधानमन्त्री पोखरेल र मुख्यमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएका हुन् ।
यस्तै नेताहरु बामवेद गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका छन् ।

कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एव भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतले मन्त्री अधिकारीको जीवनी वाचन गरेका थिए । श्रद्धाञ्जलिसभा स्थलमा पार्टीका ४९ वटा झण्डा झुकाइएको छ ।

मन्त्री अधिकारीको उमेर ४९ वर्ष पुगेका कारण ४९ वटा झण्डा झुकाइएको पार्टीका कार्यकर्ताले बताएका छन् । पोखरा स्थित रामघाटमा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्यष्टि गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्