कृषिका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, फागुन १७ । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले सरकारले किसानको माझमा सेवा र सुविधा पु¥याउन कृषिसम्बन्धि सम्पूर्ण कार्यक्रम र त्यसका लागि आवश्यक जनशक्ति र बजेट स्थानीय सरकारलाई नै हस्तान्तरण गरेको पनि स्पष्ट पारे ।

काठमाडौँमा आयोजना गरिएको साना किसान सम्मेलनमा बोल्दै उहाँले स्थानीय तहले पूर्वाधार, शिक्षा र स्वास्थ्यसँगै कृषि कार्यक्रमलाई पनि सन्तुलित ढंगले अघि बढाउनुपर्ने पनि स्मरण गराए ।

स्थानीय सरकार र त्यहाँका जनप्रतिनिधिहरुले पूर्वाधारको विकास गर्ने तर उत्पादनमा जोड नदिने हो भने पूर्वाधार विकासबाट पनि प्रतिफल लिन नसक्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले विगतमा किसानहरुको घरदैलोमा सेवा, सुविधा नपुगेपछि सरकारले कृषिसम्बन्धि सबै कार्यक्रम र बजेट स्थानीय सरकारले नै परिचालन गर्ने योजना, नीति तथा कार्यक्रम तय गरेको पनि उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले कृषिउपजको उपयोगका लागि सरकारले न्यून पारिश्रमिक भएका कर्मचारीहरुको तलव वृद्धि गरि दिएको पनि बताए ।

बिहीबारबाट सुरु भएको सम्मेलनमा देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तराष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी जम्मा १२ सय जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्