पर्यटनमन्त्री अधिकारीसहित ७ मृतकको शव पोष्टमार्टमका लागि टिचिङमा , अन्तिम श्रद्धाञ्जली ३ बजेदेखि टुँडिखेलमा

काठमाडौंँ, फागुन १६ । दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ९टिचिङ हस्पिटल० महाराजगन्ज लगिएको छ ।

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मृतकको शव बिहीबार काठमाडौ ल्याइएको हो । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट शव पोष्टमार्टमको लागि टिचिङ लगिएको थियो ।
नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार अधिकारीको शव पोष्टमार्टमपछि श्रद्धाञ्जलिका लागि टुँडीखेलमा राखिनेछ ।

अधिकारीसहितको शव सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टरमार्फत काठमाडौ ल्याएको हो । शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन ।

यसैवीच मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमै लगेर गरिने भएको छ । कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिएका छन् ।

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्