पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो
काठमाडौंँ, फागुन १६ । दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव ताप्लेजुङबाट काठमाडौ ल्याइएको छ ।
त्रिभुवन विमानस्थलबाट उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालतर्फ लगिएको छ ।नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ ।
त्यसपछि श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने छ । पार्टी कार्यालयमा नेता, कार्यकर्ता र सुभचिन्तकहरुले अधिकारीलाई श्रद्धान्जली दिने व्यवस्था मिलाएको नेकपाले जनाएको छ । त्यसपछि समय रहेसम्म काठमाडौंको खुलामञ्चमा समेत अधिकारीको शव सम्मानका साथ राख्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
अधिकारीसहितको शव सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टरमार्फत काठमाडौ ल्याएको हो । शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन ।
यसैवीच मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमै लगेर गरिने भएको छ । कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिएका छन् ।
अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्