पाकिस्तानका सबै विमानस्थलमा हाई अलर्ट, राष्ट्रिय-अन्तराष्ट्रिय उडान रद्द
काठमाडौं, फागुन १५ । पछिल्लो भारत र पाकिस्तानबीचको युद्धको स्थितिका कारण पाकिस्तानले आफ्ना सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु रद्द गरेको छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान शासित काश्मिरका सबै नागरिक विमानस्थलहरु बन्द गरिएको छ ।
यस अघि नै भारतले पनि जम्मू काश्मिर र अमृतसरका सबै फ्लाईटहरु रद्द गरी विमानस्थलमा उच्च सुरक्षा सतर्कता अपनाई सकेको छ ।
पुलवामा आतंककारी हमलापछि सुरु भएको दुई देशबीचको तनाव भारतको मंगलबारको एयर स्ट्राइकसम्म आईपुग्दा युद्धको स्थितिमा पुगेको हो ।
भारतले पाकिस्तानको लडाकू विमान भारतीय भूमिमा छिरेको आरोप लगाएको छ र केही लडाकू विमानका भारतीय एयर स्पेसको समेत उल्लंघन गरेको भारतको आरोप छ । तर, पाकिस्तानले भने यसको बचाउ गर्दै आफूहरु एलओसी लाईन पार नगरेको दाबी गरिरहेको छ ।
यसैबीच दुबै देशले एकअर्काको विमान खसालेको दाबी गरिरहेका छन् । भारतले अहिले एउटा पाकिस्तानी युद्धविमान खसालेको दाबी गरेको छ भने पाकिस्तानले दुईवटा भारतीय युद्धपोत विमान खसालेको दाबी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्