एनसेल विस्फोटमा सहभागीलाई कारबाहीको दायरामा ल्याउन चेम्बरको माग, नख्खु विस्फोटमा संलग्न एकजना पक्राउ

काठमाडौँ, फागुन १५ । एनसेल विस्फोटमा सहभागीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानकर्षण गराएको छ ।

चेम्बरले विज्ञप्ति जारी गरी एनसेल प्रालिका विभिन्न क्षेत्रमा रहेका कार्यालयहरूमा भएको आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आक्रमणकारीलाई कारबाहीका लागि माग गरेको हो ।

साथै, नागरिकको सुरक्षाको प्रत्याभूति गराउनपनि चेम्बरले अपिल गरेको छ ।

चेम्बरले बैंकको ऋणबाट निजी क्षेत्रले लगानी गर्न एवं व्यवसाय विस्तार गर्ने अवस्था नभएको भन्दै ब्याजदर वृद्धिलाई निरुत्साहित गर्न उपयुक्त पहलकदमी लिनपनि सरकारलाई आग्रह गरेको छ ।

यसका साथै करमा देखिएको समस्या समाधान, ऐन–कानुनमा सुधार गरी लगानीको वातावरण निर्माणका लागि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।
एकजना पक्राउ
नख्खुस्थित एनसेल कम्पनी अगाडि गरिएको विस्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार एक व्यक्तिको ज्यान जाने गरी भएको विस्फोटमा भुजेल प्रत्यक्ष संलग्न देखिएका छन् । प्रहरीका अनुसार सोही दिन कमलपोखरीमा डिस्पोज गरिएको प्रेसर कुकर बम पनि उनकै निर्देशनमा राखिएको थियो ।

एक समय चन्दको अंगरक्षकसमेत रहेका भुजेल पछिल्लो समय उक्त पार्टीको उपत्यका कमाण्ड सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्