यो वर्ष दार्चुलामा यार्सागुम्बा अझै बिक्री भएन, व्यापारी र सङ्कलकको हातमुख जोर्न समस्या

काठमाडौं, फागुन १४। दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् ।

व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन्

स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न समस्या भएकोे छ । एकातिर यार्सागुम्बा सङ्कलकले व्यापारीबाट यार्साबापतको रुपैयाँ मागिरहेका छन् भने अर्कोतिर जिल्लाका व्यापारीले खरीद गरेको यार्सागुम्बा बिक्री गर्न नसक्दा समस्यामा परेको छ ।

यार्सागुम्बा व्यापारी तेजबहादुर बमले यो वर्ष खरीद गरेको झण्डै एक क्विन्टल यार्सागुम्बामध्ये आधा पनि बिक्री हुन नसकेको बताए । “मैले झण्डै ९० किलोग्रामको हाराहारीमा यार्सागुम्बा खरीद गरे, तर हालसम्म ३०÷३५ किलोग्राम जति मात्रै बिक्री गर्न सकेको छु”, उनले भने।

“गुणस्तर हेरेर प्रतिकिलो रु १७ लाखदेखि २४ लाखसम्मका दरले खरीद गरेको यार्सागुम्बा बिक्री नभएपछि हामी समस्यामा छाँै”, व्यापारी बमले भने, “काठमाडौँमा अहिले प्रतिकिलोग्राम रु १० लाखमा बिक्री हुन मुस्किल भइरहेको छ, विशेषगरी चीनका व्यापारीले निर्यात गर्ने यार्सागुम्बामा कम मूल्य भन्न थालेपछि बिक्री रोकिएको छ ।”

उनले भने, “यार्सागुम्बामा प्रतिकिलोग्राम रु सातदेखि आठ लाख घाटा छ । एकातिर स्थानीय सङ्कलकबाट उधारोमै यार्सागुम्बा सङ्कलन गरिएको छ । उनीहरुले पनि यार्साको रुपैयाँ माग्दैछन्, तर हामीहरुको यार्सा नै बिक्री भएको छैन ।” दार्चुलाबाट यार्सा खरीद गरी काठमाडौँ गएर फर्किएका अधिकांश व्यापारी यार्सागुम्बाको भाउ नमिलेको भन्दै निराश भएर फर्किएका छन् ।

हरेक वर्ष जिल्लाबाट छदेखि आठ क्विन्टल बढी यार्सागुम्बा निकासी हुने गरेको छ । कार्यालयले यो वर्ष यार्सागुम्बाको छोडपुर्जी निकासीबापत रु एक करोड ६३ लाख ५० हजार राजश्व सङ्कलन गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्