अन्ततः दुईवटा नेपाल कराँते महासंघको विवाद मिल्यो
काठमाडौं, फागुन १४ । फरक–फरक अस्तित्वमा रहेका दुईवटा नेपाल कराँते महासंघको विवाद मिलेको छ । अन्ततः विवादमा परेका उनीहरु एक भएका छन् ।
खेलकुद संघको विवाद समाधानका लागि युवा तथा खेलकुद मन्त्रायले गठन गरेको विवाद समाधान समितिले अस्तित्वमा रहेका दुवै कराँते संघलाई नयाँ निर्वाचनमार्फत विवाद समाधान गर्न सहमत गराएको हो ।
सहमति अनुसार तीन महिनाभित्र नयाँ निर्वाचन गर्न शम्भु आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिति गठन गरिएको छ । समितिको सह संयोजकमा दावा लामा छन् ।
उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिचरण केसी, सह महासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा बीआर मित्र र श्याम शेर्पा, कोपाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् । तदर्थ समितिलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले पनि औपचारिकता मान्यता दिएको छ ।
यसअघि युवराज लामा राखेपको सदस्य सचिव हुँदा आफ्नो संरक्षकत्वमा दावा गुरुङको अध्यक्षतामा नेपाल कराते महासंघ पुनर्गठन गरेका थिए ।
नेपालमा लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको आधारमा दुईवटा संघले कराँते गतिविधि सञ्चालन गर्दै आएका थिए ।
राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघलाई दावा गुरुङले नेतृत्व गर्दै आएका थिए । पुरेन्द्रविक्रम लाखे अध्यक्ष रहेको कराँते महासंघलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि मान्यता थियो ।
दुईवटा कराँते महासंघ अस्तित्वमा रहदाँ अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागिता, प्रतियोगिता आयोजना, खेलाडी र खेल संघले पाउने सेवा सुविधा लगायत विषयमा विवाद हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्