विश्व पदक विजेता विक्रम श्रेष्ठलाई आज नगदसहित सम्मान

काठमाडौँ, १३ फागुन । नेपाल तेक्वान्दो सङ्घले आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता विक्रम श्रेष्ठलाई आज नगदसहित सम्मान गरेको छ ।

उनीसँगै प्रशिक्षक कविराज नेगी लामालाई पनि सङ्घले नगदसहित सम्मान ग¥यो । आज यहाँ आयोजित कार्यक्रममा विक्रमलाई रु ३० हजार र लामालाई रु १० हजार नगदसहित प्रशंसापत्रले सम्मान गरेको हो ।

टर्कीको एन्टिल्यामा गत माघ २३ र २४ गते भएको प्रतियोगितामा विक्रमले पी–३२ क्याटगोरीको पुरुष एकल पुम्सेमा कास्य जितेका थिए । विक्रमको स्पर्धामा नौ राष्ट्रका त्यत्ति नै खेलाडी सहभागी थिए । मोरोक्कोका खेलाडीलाई पराजित गरेका विक्रम इटालीका खेलाडीसँग पराजित भएका थिए ।

उक्त प्रतियोगिता विक्रमको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नेपालले पारा तेक्वान्दोको पुम्से स्पर्धामा पदक जितेको पनि पहिलो हो । सोही अवसरमा प्रतियोगितामा सहभागी अर्की खेलाडी पलेशा गोबद्र्धन र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

त्यसै कार्यक्रममा पारा तेक्वान्दोका नयाँ खेलाडी लोकराज बस्नेत, सुवासचन्द्र राई र विदिता खनाललाई प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरिएको थियो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकूद परिषद्का संयोजक सुदील शाहीले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दै पारा तेक्वान्दोको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

थ्री स्टार च्याम्पियन : आयोजक थ्री स्टार स्कुल प्रथम थ्री स्टार तेक्वान्दो प्रतियोगितामा आज टिम च्याम्पियन बनेको छ । थ्री स्टारले चार स्वर्ण, छ रजत र एक कास्य जित्यो । बौद्धमा भएको प्रतियोगितामा चार स्वर्ण, एक रजत र दुई कास्यसाथ त्रिनेत्र विद्या निकेतन दोस्रो भयो । तेस्रो स्थानको ब्रेनल्यान्ड एकेडेमीले तीन स्वर्ण, तीन रजत र एक कास्य हात पार्याे ।

प्रतिक्रिया दिनुहोस्