आईसीसी महिला टी–२० विश्वकप छनौटमा चीनलाई ५ रनले पराजित गर्दै नेपालको जित हासिल

काठमाडौं, १३ फागुन। आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनौटमा नेपालले चीनलाई ५ रनले पराजित गर्दै झिनो अन्तरले जित हासिल गरेको छ । नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो ।

चीनका लागि जहाङ मिईले ३३ रन बनाइन् । काइयुन जहोउले १८ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले तीन विकेट लिइन् । त्यस्तै, कविता कुँवरले एक विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनायो । नेपालको सुरुवात राम्रो थियो । काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरिन् ।

सीता व्यक्तिगत ११ रनमा आउट भइन् । थप दुई रन जोड्दा काजल पनि १८ रनमा आउट भइन् । त्यसपछि नेपालले लगातार विकेट गुमायो । पाँच खेलमध्ये चार खेलमा जीत, एक खेलमा हार ब्यहोरेको नेपालको ८ अंक छ । तर थाइल्यान्ड पाँच खेलमा शतप्रतिशत जीतसहित १० अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा छ ।

पाँचमध्ये चार खेलमा जीत र एक खेलमा हार ब्यहोर्दै ८ अंक नै बनाएको युएई नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ । एशिया क्षेत्र छनोटबाट ग्लोबल छनैटमा जम्मा एक टीममात्र पुग्नेछ । नेपालले अन्तिम खेलमा कुवेतलाई भारी अन्तरले पराजित गरे पनि ग्लोबल छनैटमा पुग्ने सम्भावना न्युन छ । नेपाल शीर्ष स्थानमा पुग्न आफ्नो खेल जितेर मात्र नभई थाइल्यान्ड र युएईको नतिजा पनि आफू अनुकुल आवश्यक पर्छ । थाइल्याण्डले हारेर यूएईले आफ्नो खेल जिते पनि नेपालको सम्भावना रहँदैन । यी तीन टीममा अंक र नेट रनरेटका आधारमा थाइल्यान्ड सबैभन्दा सहज अवस्थामा छ ।

 

प्रतिक्रिया दिनुहोस्