पाठकबारे केही दिनमा थप प्रमाणसहित सार्थक निश्कर्ष निस्कन्छ : अख्तियार प्रमुख घिमिरे

काठमाडौं, फागुन १२ । घुस काण्डमा मुछिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकका सम्बन्धमा केही दिनभित्र सार्थक परिणाम सार्वजनिक हुने अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले घुस विवादमा राजीनामा दिएका आयुक्त पाठकको विषयमा केही दिनभित्र सार्थक निश्कर्ष आउने बताएका छन् ।

आइतबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा आयुक्त घिमिरेले त्यस घटनामा तीन सदस्यीय समिति बनाएर अनुसन्धान गरिरहेको र केही दिनमा सार्थक निश्कर्ष निस्कने बताएका हुन् ।

‘पछिल्लो घटनाका बारेमा आयोगले वरिष्ठ सदस्यको संयोजकत्वमा ३ सदस्यीय अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । केही दिनअघि मात्र त्यसको केही प्रमाणहरु प्राप्त गरेका छौं’ उनले भने ‘त्यसलाई स्क्रिप्टमा रुपान्तरण गर्ने काम गरिरहेको छ । केही दिनमा नै सार्थक निश्कर्ष सार्वजनिक हुनेछ भन्ने विश्वास राख्न चाहन्छु ।’

प्रमुख आयुक्त घिमिरेले संस्थाको पनि आफ्नो जीवन हुने भन्दै त्यसमा आरोह अवरोह आइरहने बताए । ‘संस्थाको जीवनमा यस्ता घटना घट्छन् भन्ने कुरा बुझिदिन सान्दर्भिक हुन्छ’ उनले भने ।

प्रमुख आयुक्त घिमिरेले वाइडबडी विमान खरिदको विषयमा पनि अहिले अनुसन्धान चलिरहेको जानकारी दिए । ‘त्यसको विस्तृत अनुसन्धान चलेको छ । अहिले बयान लिने काम सुरु भएको छ’ उनले भने ‘अनुसन्धानमा रहेको हुनाले यसभन्दा अतिरिक्त विषय सार्वजनिक गर्नु सान्दर्भिक हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्