भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो, दुई सयभन्दा बढी अस्पतालमा भर्ना

काठमाडौं , फागुन १२ । भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।
थप ३५ भन्दा बढी मजदुरहरुको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १३३ पुगेको हो । भारतको आसाम राज्यमा भएको यस घटनामा परी बिरामी भएका दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

मृत्यु भएका र बिरामी भएका सबै आसामको चिया बगानमा काम गर्ने मजदूरहरू हुन् । मृत्यु हुनेक्रम गत बिहीबारदेखि सुरु भएको थियो । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।

दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो । ‘पछिल्लो विवरण अनुसार गोलघाट र जोरहाटमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ,’ प्रदेश प्रहरीका अतिरिक्त महानिर्देशक मुकेश अग्रवालले आइतबार पत्रकारहरुसँग भने ।

उनले घटनामा दोषी भएको आशङ्कामा दश जनालाई गिरफ्तार गरिएको र पीडितहरुले सेवन गरेको मदिराको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको पनि जानकारी दिए । त्यसैगरी मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ ।

गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा। रतुल बोरदोलोईका अनुसार पीडितहरूमा बान्ता हुने, छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए । –एएफपी

प्रतिक्रिया दिनुहोस्