आइसीसी महिला टी–२०: नेपालको तेस्रो जित, नेरीको उत्कृष्ट बलिङ

काठमाडौं, फागुन १२ । आइसीसी महिला ट्वेन्टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको छ ।

आइतबार थाइल्यान्डको बैंककमा सम्पन्न खेलमा हङकङले दिएको ६३ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा अप्सरी बेगमको २४ रन तथा सरिता मगरको अविजित १६ रन महत्वपूर्ण रह्यो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको थियो । उसका लागि मेरिना लम्पोलले सर्वाधिक १९ रन जोडिन् ।

बलिङतर्फ नेपालकी नेरी थापा एक्लैले ६ विकेट लिइन् । नेरीले ४ ओभरमा ८ रनमात्रै खर्चिएर ६ विकेट झारेकी हुन् ।

टी–२० महिला विश्वकप क्रिकेट एसियाली समूहको छनोटमा नेपालको यो तेस्रो जित हो ।

आयोजक थाइल्यान्डसित पराजित भएको नेपालले मलेसिया, युएई र हङकङलाई हराएको हो ।

यो जितसँगै नेपालले अंकतालिकाको तेस्रो स्थानमा चीनसँग बराबरी गरेको छ । नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । एक खेल बढी खेलेको चीनको पनि ६ अंक नै छ ।

एक खेल बढी खेलेको युएई ८ अंकसहित दोस्रो स्थानमा रहँदा समान ८ अंक जोडेको थाइल्यान्ड रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ ।

छनोट प्रतियोगिताबाट ग्लोबल छनोटमा पुग्न नेपालले यो प्रतियोगिता जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्