रोजगार संयोजकका लागि परीक्षा आज बाट सुरु, नेपालमै पहिलोपटक कम्प्युटरबाट परीक्षा लिइँदै

काठमाण्डौ, फागुन १२ । रोजगार संयोजकका लागि परीक्षा सुरु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न माग गरिएको परीक्षा आइतबारबाट सुरु भएको हो ।

७५३ स्थानीय तहका लागि खुलाइएको विज्ञापनमा आवदेन दिएकामध्ये छनोटमा परेकाहरुको परीक्षा आइतबार र सोमबार ललितपुरको पुल्चोकमा रहेको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुनेछ ।

७ सय ५३ जनाका लागि २३ हजार ९ सय ६८ जनाको आवेदन परेकोमा पहिलो चरणबाट २२ सय ५९ जना छानिएका थिए ।

आवेदकको शैक्षिक योग्यताको लब्धाङ्क प्रतिशत र अनुभवका आधारमा प्रारम्भिक छनोट गरिएको हो । रोजगार संयोजकको भर्ना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै सरकारले नेपालमै पहिलो पटक अनलाइनबाटै परीक्षा लिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताए ।

रोजगार संयोजकले स्थानीय तहमा रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।

यस्तै रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् । बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्