एक हप्तादेखि किष्ट मेडिकल कलेज बन्द, कर्मचारी आन्दोलित

काठमाडौं । किष्ट मेडिकल कलेज एक सातादेखि आकस्मिक बाहेक अन्य सबै सेवा ठप्प भएको छ । अखिल नेपाल स्वास्थ्यकर्मी संघ, कर्मचारी युनियन र अखिल नेपाल स्वास्थ्य श्रमिक संघले संयुक्त रुपमा आफ्ना १५ सुत्रिय माग राख्दै आन्दोलन पछि अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प भएको हो ।

आन्दोलनरत पक्षले १५ सुत्रे माग अन्तर्गत तलव वृद्धि गरिनुपर्ने, कर्मचारीको सेवा सुविधा बढाउनु पर्ने, रात्रीकालीन ड्युटीमा खटिनेलाई भत्ताको व्यवस्था गरिनुपर्ने, अस्पतालले आफैं फार्मेसी सञ्चालन गर्नुपर्ने तथा उक्त फार्मेसीमा अस्पतालका कर्मचारीलाई २५ प्रतिशतसम्म छुट व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।
करिब छ महिना अगाडि नै अस्पताल प्रशासनलाई माग पत्र बुझाएपनि बेवास्ता भएपछि बाध्य भएर शान्तिपूर्ण धर्नामा उत्रिएको वार्ता कमिटी संयोजक उमेश बर्तौलाले बताए ।

उनका अनुसार अस्पतालले आन्दोलनरत पक्षले श्रम कार्यालय तथा अस्पताल व्यवस्थापकलाई उक्त माग बुझाउँदा समेत सुुवाई नभएपछि अस्पतालका कर्मचारीहरुले गत मंसिर २८ गतेदेखि काम छोड्ने भन्दै घरमा बसेका थिए । अस्पताल प्रशासनले यही मंसिर २९ गते विना जानकारी एकतर्र्फीरुपमा हाजिर कटौती गरेपछि आन्दोेलन सुरु गर्न बाध्य भएको बताए ।

अस्पताल प्रशासनले ९ दिन वितिसक्दा पनि कुनै सुनुवाई भएको नभएको बताए । उनले आफ्ना माग सुनुवाई नभएसम्म अस्पतालका इमर्जेन्सी बाहेक अन्य सबै विभागमा कर्मचारी नफर्कने समेत स्पष्ट पारे ।

अस्पताल प्रशासनले भने सेवा बन्द गरेर वार्ता नगर्ने र कर्मचारीलाई यथाशिघ्र काममा फर्कन आग्रह गरेको छ ।
उनका अनुसार अस्पतालमा हाल आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प हुँदा अस्पताल आउने बहिंरग सेवा तर्फका दैनिक ६०० तथा आन्तरिक सेवा मार्फत झण्डै डेढ सय विरामी अन्तै जान बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्