पुल निर्माणमा भएको ढिलासुस्तीले यात्रुहरुलाई सास्ती
काठमाडौ, फागुन १० । पुल निर्माणमा भएको ढिलासुस्तीका कारण यात्रुहरुलाई यात्रा गर्न निकै सास्ती भएको छ । म्याग्दीस्थित बेनी–दरवाङ सडक अन्तर्गत दुखुखोलामा मोटर चल्ने पुल निर्माणमा भएको ढिलासुस्तीले यात्रुलाई सास्ती भएको छ ।
प्राविधिक कमजोरी, सम्बद्ध कार्यालयको ढिलासुस्ती र निर्माण व्यवसायीको लापरवाहिका कारण मङ्गला र मालिका गाउँपालिकाको सिमानास्थित दुखुखोलामा आठ वर्षअघि शुरु गरिएको पुल अहिलेसम्म बनेको छैन ।
उक्त पुल २२ मिटर लामो पुल निर्माणका लागि विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिले विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) अन्तर्गत बनाइएको पुलको नमूना रद्द गरेर २०७३ साउन ९ गते जिविस र प्राविधिक कार्यालयले पुनः सर्वेक्षण गरेपछि रु दुई करोड २५ लाख ६० हजार ८२३ मा निर्माण गर्ने गरी स्वच्छन्द–गौचन जेभीले ठेक्का पाएको थियो ।
उक्त कम्पनीले विसं २०७४ कात्तिकमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि अहिलेसम्म दुबैतर्फको पिल्लर मात्र ठड्याएर काम अलपत्र छोडिएको छ । गत मङ्सिरदेखि काम पनि भएको छैन ।
मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको भन्छन् , पुल निर्माण नहुँदा सर्वसाधारण खोलामा जोखिम मोलेरै पनि वारपार गर्न बाध्य भएको छ ।
बेनी–दरवाङ मङ्ला, मालिका, धवलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । “हिउँदमा खोलाबाटै सवारीसाधन तरे पनि बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावत ठप्प हुन्छ”, अध्यक्षले थपे । “सम्बन्धित निकायको वेवास्ता र ढिलासुस्तीका कारण पुल नबन्दा यातायात सञ्चालन र सामान ढुवानीमा कठीन भएको छ ।”
उक्त कम्पनीले ठेक्का लिए पनि काम भने बेनीको श्रमजीवी निर्माण कम्पनीले काम गर्दै आएको छ । सङ्घीयबाट प्रदेश सरकारमा पुल निर्माणको जिम्मेवारी हस्तान्तरण भए पनि बजेट व्यवस्थापन र अख्तियारी आउन ढिलाइ भएकाले यो पुल निर्माण हुन नसकेको अध्यक्ष रोकाको गुनासो थियो ।
प्रदेश सरकारले बजेट उपलब्ध गराए पनि निर्माणका लागि अख्तियारी दिन ढिलासुस्ती गरेकाले पूर्वाधार कार्यालय र निर्माण कम्पनीका प्रतिनिधिलाई ताकेता गरिएको जिसस प्रमुख देवेन्द्र केसीले बताए ।














प्रतिक्रिया दिनुहोस्