थाइल्याण्डद्वारा नेपाललाई १२५ रनको लक्ष्य

काठमाडौं, फागुन ९ । बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत दोस्रो खेलमा नेपाललाई घरेलु टोलीले १२५ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनायो ।
थाइल्याण्डका लागि चानिदाले सर्वाधिक ३५ रन बनाउँदा नेउमोल चाउमाईले ३२ तथा वाङपाकाले २७ रन बनाइन् । नेपालका लागि कविता कुँवर र नेरी थापाले २–२ विकेट लिए भने करूणा भण्डारी र रूविना क्षेत्रीले १–१ विकेट हात पारे ।
सन् २०२० मा हुने टी–२० महिला विश्वकप र २०२१ मा हुने एकदिवशीय गरी दुवै विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्न बिहीबारको खेल दुवै टोलीका लागि निर्णायक जस्तै हुनेछ ।

एसोसियट टोलीमध्ये सबैभन्दा राम्रो देखिएको थाइल्याण्डले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
यही प्रतियोगिताको तयारीका लागि गत महिना आयोजना भएको थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल थाइल्याण्डसँग ७० रनले पराजित भएको थियो ।

ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा थाइ टोली उत्कृष्ट छ । गत महिना बैंककमै भएको टी–२० स्म्यासको फाइनलमा १ सय २१ रनको लक्ष्य पछ्याएको नेपाल ५१ रनमै समेटिएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको नेपालले ब्याटिङमा ५ विकेट गुमाएर १२६ रन बनाएको थियो ।
पहिलो खेलमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट देखिएका नेपालले त्यही पप्रदर्शनलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्