अनिल अम्बानीले अदालतको अपहेलना गरेको ठहर, तीन महिना जेल जान सक्ने

काठमाडौं, फागुन ८ । भारतीय सर्वोच्च अदालतले रिलायन्स कम्युनिकेसनका अध्यक्ष अनिल अम्बानीलाई जानीजानी अदालतको आदेशको उल्लंघन गरेको अभियोगमा दोषी ठहर गरेको छ।

रिलायन्स कम्पनीका मालिक अम्बानीले टेलिकम उपकरण बनाउने कम्पनी एरिक्सनलाई ५५० करोड भारु बक्यौता भुक्तानी नगरेको भन्दै बुधबार सर्वोच्चले अदालतको अवहेलनामा दोषी ठहर गरेको छ।

सर्वोच्चले तत्काल भुक्तानी नगरेमा तीन महिना जेल सजाय हुने फैसलासमेत सुनाएको छ।

२०१४ मा एरिक्सले आरकाँमको नेटवर्क सञ्चालनका लागि सम्झौता गरेको थियो। अघिल्लो वर्ष एरिक्सनले अदालतमा त्यस बापतको ५५० करोड भुक्तानी नपाएको भन्दै मुद्दा दायर गरेको थियो।

सर्वोच्चले तत्काल उक्त रकम सम्झौता अनुसार भुक्तान गर्न भने पनि अम्बानीले अटेर गरेपछि आज अदालतको मानहानी मुद्दामा उनलाई तीन महिना जेल हुन सक्ने फैसला सुनाइएको हो।

प्रतिक्रिया दिनुहोस्