मीना पाण्डेले संसद बैठकमै च्यातिन् नियमावली! सरकारलाई राजपाले भन्यो – समर्थन फिर्ता लिन बाध्य नबनाऊ

काठमाडौं, फागुन ८ । कांग्रेस सांसद मीना पाण्डेले उक्त नियमावली संसद बैठकमै च्यातेकी छन् । उनले सबै समानुपातिक सांसदको तर्फबाट भन्दै नियमावली च्यातेकी हुन् ।

निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदलाई एकै खालको प्रमाणपत्र दिए पनि सरकारले नियमावलीमार्फत समानुपातिक सांसदलाई विभेद गरेको उनले आरोप लगाइन् ।

‘सबै समानुपातिक सांसदलाई दोस्रो दर्जाको बनाउने नियमावली पाच्य छैन । सरकारले यो नियमावली परिवर्तन गरोस्, एउटै हाउसमा बसेका सांसदको मानमर्दन नगरोस्,’ उनले भनिन् ।

प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावलीको विरोध गरेका छन् । उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको उनीहरुको गुनासो छ ।

समर्थन फिर्ता लिन बाध्य नबनाऊ

राष्ट्रिय जनता पार्टी नेपालले सरकारमाथिको समर्थन फिर्ता लिन बाध्य नपार्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ ।

सरकारले प्रतिवद्धता जनाएको संविधान संशोधन, मधेस आन्दोलनका मुद्दा फिर्तालगायतका कुनै पनि माग पूरा नभएको भन्दै पूरा नभए समर्थन फिर्ता लिने र संसद घेराउ गर्ने चेतावनी दिएको हो ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘हामीलाई समर्थन फिर्ता लिने सडकमा जाने संसद घेराउ गर्ने, यो परिस्थितिमा हामीलाई सरकार नपारोस् अन्यथा हामी बाध्य हुन्छौं ।’

आफूहरुको माग पूरा गर्न सरकारले पटक पटक समय मागे पनि बेवास्ता गरेको भन्दै आफूहरुलाई उच्छृङ्खल गतिविधि गर्न बाध्य नपार्न उनले आग्रह गरे । ‘हामी सरकारको विश्वासमा मात्र यो विषय पूरा हुन्छ भनेर चुप लागेर बसेका छौं, पर्खिरहेका छौं । सरकार हामीलाई बाध्य नगरोस् कि हामी उश्रृंखलतामा जाऔं ।’

प्रधानमन्त्रीले प्रतिवद्धता जनाएकोा विषय पूरा नगरे राज्यप्रतिको विश्वास नै घटेर जाने सांसद कर्णले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्