मन्त्रीले गरिन् खानेपानी मन्त्रालयका सचिव ठाकुरको सरुवा, खानेपानी मन्त्रालयमा लफडा

काठमाडौं, फागुन ८ । खानेपानी मन्त्री बिना मगरले मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा गराएकी छिन् ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा खानेपानी मन्त्री मगर र सचिव ठाकुरबीच मत बाझिएपछि सोमबार उनको सरुवा गरिएको हो ।

आयोजनाको काम छोडेर गएको इटालीयन कम्पनी सीएमसीलाई कानुन विपरित २ अर्ब ६० करोड रुपैयाँ भूक्तानी दिएर फेरि बोलाउन मन्त्रीले दवाव दिएको तर सो निर्देशन नमान्दा आफूलाई सरुवा गरिएको सचिव ठाकुरले दाबी गरेका छन् ।

उनले भने–‘त्यो कानुन विपरित भएकोले मैले दिन मानिनँ, त्यसको विकल्प खोज्नुस् मबाट मुलुकलाई अहित हुनेगरी राष्ट्रलाई घात हुने यस्तो काम हुँदैनँ भनेपछि सरुवा गर्नुभयो ।’

सोमबार आफ्नो सरुवा गरिएको अनौपचारिक रुपमा आफूले थाहा पाएको उनले बताए ।

उनले मन्त्री मगर अहिले कञ्चनपुर भएको र यसबारे केही कुरा नभएको बताउँदै सरकारले जहाँ सरुवा गरेको भएपनि गएर काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्