दुर्घटनामा हातखुट्टा गुमाएकी धादिङकी रुकुशाको आँट : म नयाँ जिवनको अभ्यासमा छु, नाचेरै सबैलाई खुसी पार्छु’

काठमाडौँ, फागुन ७। केही दिनअघि धादिङको थाक्रे गाँउपालिकामा महादेवबेशी महोत्सवमा एक खुट्टाले नाच्ने १५ बर्षिया रुकुशा थापाले माया लुकी लुकी बोलको गितमा नाचेर सबैको मन जितिन् । सयौँ दर्शकहरुको भिडमा उनले एक खुट्टाले नाचेपछि दर्शकदिर्घाबाट परर् ताली पड्कियो । उनको नाच हेरेर मञ्चमा आसिन अतिथीहरुले तत्कालै केही रकम संकलन गरेर उनलाई सहयोग गरे । उनको खुट्टामात्रै हैन एउटा हात पनि छैन । नाचेर केही आराम गरिसकेपछि उनले भनिन्–आज यो गितमा तयारी गरेकै थिईन् । तर मैले जतिसक्दो नाच्ने प्रयास गरेँ । उनले विभिन्न नयाँ तथा पुराना गितहरुमा नाच्न अभ्यास गर्ने र त्यही प्रस्तुती कार्यक्रमहरुमा दिदैँ आईरहेको अनलाईन केन्द्रलाई बताईन ।

दुर्घटनाले गुम्यो एक हात,एक खुट्टा

धादिङको साविकको भुमेस्थान ८ की रुकुशा जन्मजात अपाङ्ग होईनन् । उनको रमाईलो जिन्दगी बितिरहेको थियो । सबै ठिकै थियो । स्कुल जान्थिन,पढ्थिन । घर आउथिन् साथीसंग खेल्थिन् । तर उनको जिन्दगीमा २०६९ चैत्र ५ गते दर्दनाक दिन भएर आयो । उनि घरबाट दुध डेरीमा पुर्याउन सिम्लेमा बजारमा थिईन् । अचानक एउटा ट्रकले उनलाई ठक्कर दियो । घटनापछि लामो समय उनको बि एण्ड बि अस्पतालमा उपचार भयो । उपचार त भयो तर उनको हात र एक खुट्टा काम नलाग्ने अवस्थामा पुग्यो । अन्तत उनले ती अंग गुमाईन ।

नयाँ जिवनको अभ्यासमा छिन रुकुशा

उनलाई थाहा छ मेरो एक हात र एक खुट्टा छैन, तर पनि जिवनबाट हरेश खाएकी छैन् । घटना हुँदा उनि कक्षा पाँचमा गाँउकै एक बिद्यालयमा पढ्थिन । घटना पछि सबैले उनलाई अब विगत नसम्झन भन्दै उत्प्रेरणा दिने प्रयत्न गरे । परिवारले पनि उनलाई साथ दियो । अहिले उनि गल्छी स्थित सक्सेस एकेडेमीमा कक्षा ८ मा पढ्छिन । जिवनमा केही गर्नुपर्छ भन्ने उनको एकमात्र उदेश्य छ । उनले एक खुट्टाले भएपनि राम्रो नाचेर सबैको मन जित्ने बताईन । उनी भन्छिन– पढ्नु मेरो पहिलो काम हो, त्यसपछि नृत्य । घरमा उनि बहिनीहरुसंग नाच्ने अभ्यास गर्छिन । नयाँ–नयाँ गितमा उनि ताल मिलाएर नाच्ने प्रयत्न गर्छिन । उनलाई थाहा छ, एक खुट्टाले नाच्ने काम कम्ति गाह्रो छैन, तर मेरो पहिचान नै अब एक उत्कृष्ट नृत्य कलाकार हो । उनले अनलाइन केन्द्रलाई भनिन् ।

प्रतिक्रिया दिनुहोस्