आउँदो विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल बहिष्कार गर्न भारतलाई आग्रह

फागुन ७ । भारतीय क्रिकेट प्रशंसक र मुम्बई क्रिकेटका केही अधिकारीले आउँदो जुनमा हुन लागेको विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल बहिष्कार गर्न भारतलाई आग्रह गरेका छन् ।

गएको बिहीबार कश्मीरको पुलवामामा ४४ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीच सम्बन्ध निकै चिसिएको छ ।
पाकिस्तानको जेलमा रहेका भारतीय सुरक्षाकर्मी कुलभुषण यादवका बारेमा अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ हुँदै गर्दा भारतीय कुटनीतिज्ञले पाकिस्तानी कुटनीतिज्ञसँग हात मिलाएका थिएनन् । त्यस्तै भारत आउने पाकिस्तानी सामानमा २००प्रतिशतसम्म भन्सार लगाउनेदेखि पाकिस्तानलाई अन्तर्राष्ट्रिय रुपमै एक्ल्याउनुपर्छ भनेर भारत लागिपरेको छ ।

दुई देशबीचको तिक्तता क्रिकेटमा पनि देखिएको छ ।

भारत र पाकिस्तानले सन् २०१३ देखि यता द्विपक्षीय सिरिज खेलेका छैनन् । तर न्युट्रल भेन्यूमा भने सन् २०१७ को च्याम्पियन्स ट्रफी र सन् २०१८ को एसिया कपमा भने भारत र पाकिस्तानले एक अर्कासँग खेलेका छन् ।

इंग्ल्याण्ड र वेल्समा हुने आउँदो विश्वकपमा भारत र पाकिस्तानबीचको खेल जुन १६ मा हुने तालिका छ । दुई देशबीचको खेल म्यानचेस्टरमा हुनेछ ।

भारतीय क्रिकेट क्लब९सीसीआई०का सचिव सुरेश बाफ्ना भन्छन्, ‘हाम्रा सीआरपीएफ जवानमाथि भएको आक्रमणको हामी निन्दा गर्छौँ । मूलतः सीसीआई एउटा खेलकुदसम्बन्धी संस्था भए पनि खेलभन्दा पहिले देशनै आउँछ ।’ बाफ्नाले आफूहरुले पाकिस्तानसँगको विश्वकप क्रिकेट बहिष्कार गर्न आग्रह गरेको पनि बताएका छन् ।

तर भारतीय क्रिकेट बोर्ड९बीसीसीआई० ले भने यसबारेमा केही प्रतिक्रिया दिएको छैन ।

पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै भारतीय इभेन्ट म्यानेजमेन्ट कम्पनी आईएमजी रिलायन्सले पाकिस्तान सुपर लिगबाट हात झिकेको छ भने डी–स्पोर्ट टेलिभिजन च्यानललाई पीएसल खेल भारतमा प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्