वर्षाका कारण फाप्ला मैदान हिलाम्मे, डीपीएलका आजका दुवै खेल नहुने सम्भावना

काठमाडौं, फागुन ४ । धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको विराटनगर किंग्स र काठमाण्डौ गोल्डेन्स तथा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल प्रभावित हुने सम्भावना प्रबल बनेको छ ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदानमा पानी जमेको छ । शुक्रबार राति पुनः पानी परेपछि मैदान खेल्नै नमिल्ने भएको छ ।

अम्पायरले खेल रद्द भएको घोषणा गरिसकेका भने छैनन् । आज बिहान ४ बजेसम्म कैलालीमा पानी परेको थियो । मैदानको आउटफिल्डमा पुरै पानी जमेको छ ।

मौसम विभागले आज बिहानसम्म पनि पानी पर्नसक्ने जनाएको छ । अहिलेसम्म विराटनगरले अंकतालिकामा तीन अंक बनाएको छ । उसले तीन खेलमा एक जीत एक हार र एक खेल वर्षाका कारण रद्द भएको थियो ।

यस्तै काठमाण्डौले दुई खेलमा दुई जित निकालेको छ । धनगढी लगातार तीन खेलमा हार व्यहोर्दा आज खेल भएन भने उसको शीर्ष चारमा पुग्ने सपना समाप्त हुनेछ । यता महेन्द्रनगरलाई पनि ठूलो घाटा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्