हिरो महिला फुटबल : उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै
काठमाडौं, फागुन ३ । भारतमा भैरहेको हिरो महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै छन् । पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित हुँदै प्रतियोगिताको सुरुवात गर्दा घरेलु टोली भारतले इरानलाई पराजित गर्दै सुखद् सुरुवात गरेको थियो ।
फिफा वरियतामा ४४ औैं स्थानमा म्यानमार रहँदा इरान ६० तथा भारत ६२ औं स्थानमा थिए ।
प्रतियोगितामा सबैभन्दा कम वरियतामा रहेको नेपालले म्यानमारसँग पराजित हुँदा बाँकी दुवै खेलमा जित निकालेको थियो । भारतमाथि २–१ को जित निकालेको नेपालले अन्तिम खेलमा इरानमाथि ३–० को फराकिलोे जित दर्ता गर्न सफल भयो ।
इरानले कुनै पनि खेल नजित्दा भारतले एक खेल जित्यो भने २ खेल जितेको नेपाल र तीन खेल नै जितेको म्यानमार फाइनलमा पुगेका हुन् ।
फाइनलमा आज नेपालले म्यानमारसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिने प्रयासमा हुने छ । म्यानमार पनि लगातार अपराजित रहँदै प्रतियोगिता टुंग्याउने तयारीमा छ । म्यानमार र नेपालबीचको फाइनल खेल साँझ सवा ६ बजे सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस्