हिरो महिला गोल्डकप फुटबलमा इरानविरुद्ध नेपालको जित

काठमाडौ, १ फागुन । सावित्राको दुई गोलसँगै हिरो महिला गोल्डकप फुटबलमा इरानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ ।

भारतको कालिंगा रंगशालामा भएको खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरिन् । अनिता बस्नेतले खेलको ४१औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्रा भण्डारीले ५९ औं र ८९ औं मिनेटमा गोल गरेपछि नेपाल ३–० ले विजयी भयो ।

जितसँगै नेपाल आफ्नो समूहको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले तीन खेलमा दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको म्यानमारको दुई खेलबाट ६ अंक छ । शीर्ष दुईमा पर्ने टिम फाइनलमा प्रवेश गर्ने छन् ।

नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग पराजित भए पनि दोस्रो खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गर्दै उच्च मनोबल बनाएको थियो । यता इरानले भने सबै खेलमा हार ब्यहोरेको छ ।

भारत र म्यानमारबीचको खेल पनि बुधबार नै राति ७ बजेर १५ मिनेटमा सुरु हुदैछ । भारत पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल फाइनलमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्