मौसम आज पनि नखुल्ने, धेरै ठाउँमा वर्षा, आइतबारदेखि भने देशैभर मौसम सफा हुने

काठमाडौँ , माघ २६ । केही दिनदेखि मौसम बदली भएको छ भने देशका अधिकांश क्षेत्रमा पानी परेको छ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा शुक्रबार राति तथा शनिबार बिहान पनि पानी परेको छ ।

देशका अधिकांश क्षेत्रको मौसम बदली रहेको र पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव सुदूर पश्चिम तथा मध्य पश्चिम केही कम भएको छ ।

मध्य तथा पूर्वी क्षेत्रमा पश्चिमी वायुको प्रभाव उस्तै छ । पूर्वी भू–भागमा पूर्ण बदली रहने तथा बाँकी क्षेत्रमा सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

पूर्वका धेरै तथा मध्य र पश्चिमका केही ठाउँमा शनिबार पानी पर्ने सम्भावना छ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिउँ पर्ने सम्भावना रहेको जनाइएको छ ।

पश्चिमी वायुको प्रभाव आइतबारदेखि कम हुने र मौसम खुल्दै जाने देखिएको मौसमविदले बताएका छन् । लगातार पानी परेपछि काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्