अब काठमाडौंका प्रत्येक वडामा ४० उद्धारकर्मी

काठमाडौँ,माघ २५ । काठमाडौँ महानगरपालिका आफ्ना सबै वडामा विपद्का समयका लागि उद्धारकर्मी तयार गर्ने कार्यमा जुटेको छ । घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि महानगरले हरेक वडामा विपद् उद्धार तथा अग्नि नियन्त्रण स्वयंसेवक तयार गर्ने तयारी थालेको हो ।
एउटा वडाबाट ४० स्वयंसेवक तयार गर्नका लागि सम्बन्धित वडामा तालिम सञ्चालन गरिने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । तालिम प्राप्त स्वयंसेवकलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइने छ ।
महानगरका सबै वडामा १४ सदस्यीय विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन भइसकेको छ । डङ्गोलका अनुसार यस समितिमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व गरिने हुनुपर्नेछ । उनका अनुसार विपद् व्यवस्थापन समितिले नै स्वयंसेवक तयार गर्नेछन् । यसका लागि वडा ६, ७ र २१ बाट स्वयंसेवक गठन भई नाम आइसकेको प्रवक्ता डङ्गोलले बताए ।
‘महानगरभित्रको विपद्मा तत्काल खटिन सक्ने एक हजार २८० दक्ष उद्धारकर्मी तयार गर्ने तयारीमा लागेका छौँ’, प्रवक्ता डङ्गोलले भने, ‘यी जनशक्तिले विपद् पूर्वतयारी तथा प्रतिकार्यको काम गर्नेछन् । तयार पारेका स्वयंसेवकमार्फत हामी हरेक घरमा पुग्ने प्रयास गर्नेछौँ ।’
महानगरले विपद् पूर्वतयारी तथा तत्काल राहत उद्धारमा काम गर्न महानगर आपत्कालीन कार्य सञ्चालन केन्द्र पनि स्थापना गरिसकेको छ । अहिलेसम्ममा २० वडाका पदाधिकारीलाई तालिम दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्