चार वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा

काठमाडौं, माघ २५ । राष्ट्रियसभाले विभिन्न ४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निवृत्तिभरण कोष विधेयक, नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक, विज्ञापन नियमन गर्ने विधेयक २०७५ र ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको हो ।

अर्थमन्त्री डा। युवराज खतिवडाले तीनवटै विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको तर्फबाट अर्थमन्त्री खतिवडाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गरेका थिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भनी प्रस्ताव गरेका थिए ।

बैठकको सुरुमा सचिव राजेन्द्र फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग दोस्रो संशोधन विधेयक २०७५ प्रतिनिधिसभाको २३ गतेको बैठकबाट संशोधन विना पारित भएको सन्देश प्राप्त भएको जानकारी गराएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक माघ २९ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्