धनगढी प्रिमियर लिग (डीपीएल) ३ को तयारी अन्तिम चरणमा

काठमाडौ, २३ माघ । कूल पुरस्कार राशी ६० लाख रहेको धनगढी प्रिमियर लिग (डीपीएल) ३ को तयारी अन्तिम चरणमा पुगेको छ ।

यहि आउँदो माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गराएर जानकारी गराइएको छ । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको तथा मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएको बताए ।

मैदान तथा ५ वटा पीच निर्माण सम्पन्न भइसकेको तथा म्याच अफिसियलहरु धनगढी आइपुगेको बताउँदै शाहीले क्रिकेटलाई अझ योजनाबद्ध र व्यवसायिक हिसाबले लैजानको लागि धनगढी क्रिकेट एकेडेमी नयाँ योजनाका साथ आउने गरेको बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद–आईसीसीबाट मान्यता प्राप्त प्रतियोगिता डिपिएल–३ मा धनगढी स्टार्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाईसी अत्तरिया, काठमाण्डौ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।

प्रतियोगिताको कूल पुरस्कार राशी ६० लाख रहेको छ । त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछन् ।

यस्तै प्रतियोगिताको मोष्ट भेल्युएबल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइनेछ ।

प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाईसमेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैयाँ लागत खर्च हुने आयोजकको अनुमान रहेको छ । धनगढी प्रिमियर लिग ३ मा वालविवाह विरुद्धका जनचेतनामुलक सन्देशहरु प्रवाह हुने भएका छन् । प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिसकिएको छ ।

खेल हेर्न टिकट दर लिग चरणमा ५० रुपैयाँ, प्ले—अफमा ७० रुपैयाँ र फाइनलमा १०० रुपैयाँ तोकिएको छ । टिकटबाट उठेको रकमको २० प्रतिशत फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणमा छुट्याइने तथा सहभागी टिमलाई ४० प्रतिशत छुट्याइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्