उपराष्ट्रपति पुन र साउदी अरेबियाका राजदूतबिच शिष्टाचार :नेपालमा लगानी गर्न उपराष्ट्रपति पुनद्वारा आग्रह

काठमाडौं, २२ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले साउदी अरेबियालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपालका लागि साउदी अरेबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीसँगको शिष्टाचार भेटमा उनले नेपाल विकास र समृद्धिको मार्गमा अगाडि बढेको भन्दै लगानीमा जोड दिएका हुन्।
‘नेपाल विकास र समृद्धितिर अगाडि बढिरहेको छ। यसका लागि हामी लगानी खोजिरहेका छौँ’, उपराष्ट्रपतिले भने, ‘साउदी अरबसँग स्रोत छ, हामीसँग लगानीको प्रशस्त क्षेत्र छ। कृषि, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस्।’
नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै उपराष्ट्रपतिले साउदीबाट अधिकतम पर्यटक आउने अपेक्षा पनि राखे।
भेटमा उपराष्ट्रपतिले नेपाल र साउदी अरेबियाबीच औपचारिक सम्बन्ध स्थापना भएको ४२ वर्ष पुगेको र हाल जनस्तरसम्म विस्तार भइरहेको बताए। उनले विभिन्न माध्यामबाट दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्ने बताए।
भेटमा राजदूत मारवानीले साउदी र नेपालको सम्बन्ध प्रगाढ बन्दै गइरहेको बताउ। उनले दुई देशबीच उच्चस्तरीय भ्रमण आवश्यक रहेको उल्लेख गरे। ‘सम्बन्धलाई अझै प्रगाढ र सहकार्यलाई फराकिलो बनाउनु पर्दछ, यसका लागि द्विपक्षीय उच्चस्तरीय भ्रमण हुनुपर्छ,’ उनले भने, ‘नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न साउदी अरबिया सदैव तयार छ।’
उनले नेपालमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण सम्पन्न भएमा साउदीबाट प्रत्यक्ष उडान गर्न सकिने पनि बताएका थिए।
मंगलबार अपराह्न उपराष्ट्रपति कार्यालय बहादुर भवनमा दुईबीच शिष्टाचार भेट भएको थियो।
प्रतिक्रिया दिनुहोस्