आज सोनाम ल्होछार: प्रदेश ३ मा सार्वजनिक बिदा, राष्ट्रपति र उपराष्ट्रपतिको यस्तो छ शुभकामना
काठमाडौं, माघ २२ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो ।
मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए ।
मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले जनाइन् ।
यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ ।
आज दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । यस अवसरमा आज ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको यस्तो छ शुभकामना
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रपात्रो अनुसार नयाँ वर्षका रूपमा तामाङ समुदायले मनाउने सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन्
सोनाम ल्होसारका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न सकेमा विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्न सकिने भएकाले यसतर्फ हामी सबैको ध्यान जानुपर्ने बताएकी छिन् ।
सन्देशमा राष्ट्रपतिले भनेकी छिन्, “नेपालसहित सिङ्गापुर, मलेशिया, भारत, थाइल्याण्ड, मङ्गोलिया, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायत देशमा समेत फरक फरक नाम र शैलीमा मनाइने सोनाम ल्होहार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवर्द्धनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएको छु ।”
राष्ट्रपतिले यस पर्वबाट सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एव उमङ्गका साथ देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामनासमेत गरेकी छिन् ।
‘चाडपर्वले सामाजिक सद्भाव सुदृढ’
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् ।
तामाङ समुदायको सोनाम ल्होछार २८५५ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कुकुर वर्ग ९वर्ष०को बिदाइ र सुँगुर वर्ग ९वर्ष०को स्वागत गरेर मनाइने सोनाम ल्होछारका अवसरमा सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइ र नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
उपराष्ट्रपतिले नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने प्रमुख दायित्व राज्यको रहेकोले यसतर्फ सबैको ध्यान जाने विश्वाससमेत गरे ।
प्रतिक्रिया दिनुहोस्