यूएईका कोचद्वारा फाइनल म्याचमा नेपालको फिल्डिङको खुलेर प्रशंसा

काठमाडौ, २१ माघ । टी–२० सिरिजको नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक खेलमा नेपालको अर्काे ऐतिहासिक जित भएसंगै यूएईका प्रशिक्षकले नेपालको फिल्डिङको खुलेर प्रशंसा गरेका छन् । नेपालले ‘अविश्वसनीय’ फिल्डिङ गरेको उनले बताएका छन् । वास्तवमै ‘नेपालको टिम वर्क प्रेरणादायी थियो र यसबाट हामीले पनि धेरै सिक्न सक्छौं यूएईका प्रशिक्षक डगी ब्राउनले भने । उनीहरुको फिल्डिङ पनि अविश्वसनीय थियो । उनीहरुले कहिल्यै पनि आत्तिएर खेलेनन् ।’

नेपालले बलिङ र ब्याटिङ दुवैमा अत्यन्त खराब सुरुवात गरे पनि अन्त्यमा जित आफ्नो हातमा पार्न सफल भए । नेपाललाई जिताउन बलिङ र ब्याटिङको जति हात थियो, त्यति नै हात रह्यो फिल्डिङको पनि । उपकप्तान ज्ञानेन्द्र मल्लले लिएका तीन महत्वपूर्ण क्याचले यूएईतर्फ गइरहेको म्याचलाई निर्णायक ढंगले नेपालको पक्षमा मोडेको थियो ।

अन्तिम ओभरमा यूएईलाई ४ विकेट बाँकि हुँदा २० रन चाहिएको थियो । ललित राजवंशीको पहिलो बलमा नै यूएईका ब्याट्सम्यानले लामो सट खेले जुन लङ अनको दिशामा छक्का हुने जस्तो देखिएको थियो । तर बल बाउन्ड्री लाइन नजिकै खस्ने क्रममा ज्ञानेन्द्रले दायाँतर्फबाट दौडदै डाइभ लगाएर एक हातले सो क्याच लिएका थिए । उक्त क्याचसँगै नेपालको जित लगभग सुनिश्चित भएको थियो ।

नेपालका कप्तान पारसले फाइनल म्याचमा सुरुमा सोचेकोभन्दा बढि रन बटुल्न आफूहरु सफल भएको बताए । उनका अनुसार नेपालले ८० देखि ९० रनको लक्ष्य पेश गर्ने सोचेको थियो तर, १ सय ४ रन बन्यो ।

प्रतिक्रिया दिनुहोस्