सम्पदा पुनर्निर्माणमा सुस्तता, २८ प्रतिशत मात्रै सम्पन्न

काठमाडौं,माघ २१ । भूकम्प गएको चार वर्ष पुग्न लाग्दा समेत सम्पदा पुनर्निर्माण कार्यले गति लिन सकेको छैन । सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा सम्पदा पुनर्निर्माणमा सुस्तता देखिएको हो । पुनर्निर्माणको चरणमा रहेका सम्पदामध्ये हालसम्म २८ प्रतिशतको मात्र निर्माण कार्य सम्पन्न भएको छ ।
पुरातत्व विभागले पुनर्निर्माणको चरणमा रहेका सम्पदामा पुनर्निर्माणको काम धमाधम भइरहेको र समयमै सम्पन्न हुने दाबी गरेको छ ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार भूकम्पबाट काठमाडां, भक्तपुर र ललितपुरमा गरी ४३२ सम्पदामा क्षति पुगेको थियो । त्यसमध्ये विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका सात सम्पदा क्षेत्रभित्र रहेका साना तथा ठूला गरी १७३ सम्पदा क्षतिग्रस्त बनेका थिए ।
पुनर्निर्माणको चरणमा रहेका सम्पदामा ७२ प्रतिशत निर्माण कार्य अझै बाँकी रहेको छ । यसमध्ये ३० प्रतिशत निर्माणको चरणमा रहेका छन् भने ४२ प्रतिशत सम्पदाको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन । पुरातत्वले चालू आर्थिक वर्षको अन्त्यसम्ममा ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
हालसम्मको अवधिलाई हेर्दा गति लिन नसकेको पुनर्निर्माण प्रक्रियाले यो लक्ष्य हासिल गर्न सक्ने आधार भने देखिँदैन । यद्यपि, पुरातत्वले आर्थिक वर्ष २०७७÷२०७८ सम्ममा सबै सम्पदाको पुनर्निर्माण गरिसक्ने लक्ष्य लिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्