दाङमा अवैध हतियार कारखाना भेटियो, विभिन्न उपकरणसहित सञ्चालक पक्राउ

काठमाडौं,माघ २१ । दाङमा हतियार बनाउने कारखाना भेटिएको छ । राजपुर गाउँपालिका ७ भौवा नाकामा लामो समयदेखि हतियार बनाएर बिक्री गर्दै आएका ५९ वर्षीय जीतबहादुर बुढालाई ठूलो मात्रामा तयारी बन्दुक र हतियार बनाउने सामग्रीसहित प्रहरीले पक्राउ गरेको छ ।
उनको कारखानाबाट ५ भरुवा बन्दुक, एक बाह्रबोर राइफल, तीन एयरगन, एक कटुवा पेस्तोल, एक रिभल्बर, २९ वटा ठूलो हतियारको नाल र १२ वटा सानो हतियारको नाल बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए।
साथै हतियार बनाउन प्रयोग हुने एक आरन मेसिन, तीन रेती, एक हेक्साब्लेड, दुई हथौडा, एक पेचकस, दुई सनासो, दुई छिना, एक पित्तल काट्ने कैँची, एक बर्मा, एक स्ट्रिङ, १२ ग्रुप काट्ने टप, १० सटगनको हतियार बनाउने खोका, १ सय ५७ वटा स्क्रु र १ सय ७ बोल्ट बरामद भएको उनले जानकारी दिएका छन्।
बुढाले सशस्त्र द्वन्द्वकालदेखि बन्दुक बनाउँदै आएको बताएका छन्। शान्ति प्रक्रियापछि केही समय काम रोकेको र तीन वर्षदेखि फेरि बनाउन थालेको बयान दिएको एसपी पाण्डेले बताएका छन्। कारखानामा बनाएका बन्दुक नेपाल र भारतका विभिन्न ठाउँमा बिक्री गर्ने गरेको थाहा भएको उनले जानकारी दिए।
कतिपय बन्दुक बनाएर विक्री गर्ने र कतिपय समान ल्याएपछि एक बन्दुकको ५ हजार रुपैयाँ ज्याला लिएर बनाइदिने गरेको बुढाले बताएका छन्।
यसैगरी भौवा नाकाकै ३८ वर्षीय रुद्रमणि घर्ती एक थान बन्दुकसहित पक्राउ परेका छन्। उनले पनि बुढाबाटै बन्दुक किनेको बताएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए।उनीहरूविरुद्ध मुलुकी अपराधसंहिता ऐन २०७४ को दफा १२९ बमोजिम हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
प्रहरीले आइतबार जिल्ला प्रहरीमा पत्रकार सम्मेलन गरी बरामद हतियार र पक्राउ गरेका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ। कान्तिपुरमा दुर्गालाल केसीले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्