राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना भन्छन्- विकासका लागि सरकार म्याराथन दौडमा छ ‘

पोखरा, माघ २० । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका लागि सरकार अहिले म्याराथन दौडमा रहेको बताएका छन् ।
आइतबार पोखरा–५ पर्स्याङमा ‘पर्स्याङ बगैँचा पार्क’ पुनःनिर्माण शुभारम्भ कार्यक्रम उद्घाटन गर्दै तिमिल्सिनाले विकासको दुरी टाढासम्म रहेकोले सरकार म्याराथन दौडमा रहेको बताए ।
उनले भने, ‘विगतका सरकार ६–६ महिना र ९–९ महिनामा परिवर्तन भएकोमा अहिलेको सरकार ५ वर्षसम्म रहने भएकोले नीति, नियम निर्माणका कारण पनि केही सुस्त देखिएको छ ।’
अध्यक्ष तिमिल्सिनाले सरकार दीर्घकालीन योजनासहित अगाडि बढेकाले जनताले अनुभूति गर्नेगरी विकासका गतिविधि तत्काल नदेखिएको बताए । निर्वाचनका बेला तेरो–मेरो भनेर दलहरु टाढा भए पनि विकासका लागि भने सबै एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।
विकासका लागि राजनीति गर्ने परम्परा अन्त्य गर्न समेत आग्रह गर्दै उनले भने, ‘राजनीति चुनावका बेला एजेण्डामा गरौंला, तर विकासमा भने राजनीति गर्नुहुँदैन ।’
नेपालका राष्ट्रिय गौरवका योजनाहरु ३ वर्षमा बनाउने भनिए पनि ३० वर्षसम्म नसकिएको दृष्टान्त दिँदै उनले अब बन्ने पार्क ३ वर्षभित्रै निर्माण सम्पन्न होस् भनी कामना गरे ।
गण्डकी प्रदेश सांसद राजीव पहारीले पार्क निर्माणमा रकम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
लायन्स चिल्ड्रेन पार्कको नाउँले चिनिएको सो पार्कलाई नेपाली मौलिकता झल्किने गरी सुविधासम्पन्न बनाउन ४ करोड रुपैयाँ लाग्ने पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।
माछापुच्छ्रे हिमालको सहजै दृश्यावलोकन गर्न सकिने पार्कमा बालबच्चाका लागि चिल्डे«न पार्क, स्वीमिङ पुल, हरियाली लगायतका संरचना थपिनेछ । महानगरपालिका र प्रदेश सरकारको सहयोगमा साढे ८ रोपनी जग्गामा बन्ने पार्क ३ वर्षभित्र सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्