रोजगार संयोजकमा २४ हजारको आवेदन

काठमाडौँ, माघ १९ । प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन गरेका छन् ।
यही माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा आज अपराह्नसम्म सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले रोजगार संयोजकका लागि आवेदन पेश गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले ७५३ स्थानीय तहमा एकरएक जना रहने गरी रोजगार संयोजकको आवेदन गरेको थियो ।
प्रदेश नं १ बाट तीन हजार ६६५, प्रदेश नं २ बाट तीन हजार ६७१, प्रदेश नं ३ बाट चार हजार ९९४, गण्डकी प्रदेशबाट एक हजार ९५५, प्रदेश नं ५ बाट दुई हजार ३०१, कर्णाली प्रदेशबाट तीन हजार ३७८ र सुदूरपश्चिम प्रदेशबाट चार हजार चार जनाको आवेदन परेको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले जानकारी दिए।
प्राप्त दरखास्तबाट तोकिएको मापदण्डका आधारमा स्वचालित कम्युटर प्रणालीबाट रिक्त पदको तीन गुणा बराबरको आवेदकको प्रारम्भिक सूची तयार गरिने उनलृ जानकारी दिए। प्रारम्भिक छनोट सकिएसँगै कम्प्युटर सीप परीक्षाका लागि सूचना जारी गरिने उहाँको भनाइ थियो । रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।
रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् । बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्