नेपालको युएईमाथि रोमाञ्चक जित, युएई ४ विकेटले पराजीत

काठमाडौ, १८ माघ । टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालको युएईमाथि रोमाञ्चक जित भएको छ । नेपालले युएईलाई ४ विकेटले पराजीत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको युएइले १९.२ ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो । नेपाललाई १०८ रनको लक्ष्य पस्केको थियो । युएइले दिएको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र पवन सरार्फले ५५ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोर्‍याए।

४१ बल खेलेका ऐरीले ४ चौका र एक छक्कासहित ४७ रनमा नटआउट रहे। यस्तै २५ बल खेलेका पवनले २ चौकासहित १८ रन बनाए। यसअघि करन केसीले २३ बल खेल्दै १ छक्का र २ चौकासहित २० रन जोडेका थिए।

प्रदीप ऐरीले ८ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन जोडेका थिए। कप्तान पारस खड्का पहिलो बलमा शून्य रनमा आउट हुँदा सुनदिप जोराले १ रन जोडेका थिए।

खराब सुरूआत गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै कप्तान पारस खड्कालाई शून्य रनमा गुमाएको थियो। टिमको खातामा ९ रन भएका बेला अर्का ओपनर प्रदीप ऐरी ८ रन बनाएर आउट भए।

तेस्रो विकेटको रूपमा ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदै पभेलियन फर्किएका थिए । पारस आउट भएलगत्तै क्रिजमा आएका करण केसीले २३ बल खेल्दै २० रन बनाएर आउट भए।

ज्ञानेन्द्रसँग २६ रनको साझेदारी गरेका करणले दुई चौका र एक छक्का प्रहार गर्दै नेपाली इनिङ्स अगाडि बढाए। डेब्यू टी–२० मा अर्धशतक बनाउँदै विश्वकै कान्छो खेलाडी बनेका सुनदीप जोरा शुक्रबार १ रनमै आउट भए। चार बल खेलेका सुनदिप धेरै बेर क्रिजमा टिक्न सकेनन्।

पाँच विकेट गुमाँउदा ४६ रन बनाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन शर्राफले जितसम्म डोहोर्‍याए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटिएको थियो। युएईलाई सस्तैमा समेट्न नेपालका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिँदा सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्