लगातार वर्षाका कारण नेपाल–पाकिस्तानबीचको खेल स्थगित

काठमाडौ, १८ माघ । लगातार वर्षाका कारण नेपाल–पाकिस्तानबीचको खेल स्थगित भएको छ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खला अन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल स्थगित भएको र उक्त खेल शनिबार हुने छ ।

पकिस्तानको फैसलावादमा आज हुने तय भएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको जनाइएको छ । शनिबार इस्लामावादको राहुलपिण्डी मैदानमा खेल हुनेछ ।

यही माघ १५ गते लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । इस्लामावादमा आइतबार र सोमबार चौथो र पाँचौ खेल हुनेछ । नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको शृङ्खला खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो ।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै प्रशिक्षकमा रिजन प्रजु छन् । शृङ्खलाका लागि नेपालले करीब तीन साता तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्