अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणाः अढाई वर्षमै हस्तान्तरण

जागरण न्युज
काठमाडौं, १६ माघ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।


त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्दै आएको थियो, धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला बनाउने भएपछि सो जग्गा फाउन्डेसनलाई उपलब्ध गराएको हो ।
रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन ।
२० विगाह ८ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । काम शुरु भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले जानकारी दिए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । फाउण्डेसनका प्रमुख धुर्मुसले बताए, ‘हामी आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गर्नेछौं । साथै यो रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुनेछ ।’

रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । अब गुरुयोजना तयार पार्नका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । धुर्मुसले भने, “रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा रहेको छ ।”
नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि गत चैतमा नै धुर्मुसले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए । उनको टिमले उपयुक्त स्थानको खोजीमा देशका विभिन्न स्थानमा स्थलगत भ्रमण गरेको थियो ।


खोजीक्रममा भरतपुर महानगरले धुर्मुसलाई जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । पटक–पटक अवलोकन र विश्लेषणपछि चितवनमा रंगशाला बनाउन धुर्मुस तयार भएका थिए ।
चितवनमा बन्ने क्रिकेट रंगशाला कमलको फुल आकारको हुनेछ । यसमा २५ हजार दर्शक अट्नेछन । बहुउपयोगी हुने यो रंगशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्