हृदयाघात भएर नर्भिकमा भर्ना भएका पूर्वयुवराज पारसको स्वास्थ्यमा सामान्य सुधार Jagaran News Published On : 29 January, 2019 5:19 am काठमाडौं,माघ १५ । हृदयाघात भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ । यद्यपी उनको अवस्था खतरामुक्त भने भइ नसकेको अस्पतालले जनाएको छ । हृदयाघात भएपछि उनलाई हिजो अपराह्न अस्पताल भर्ना गरिएको थियो । अस्पतालले गरेको परीक्षणमा उनलाई कडा हृदयाघात भएको पाइएको थियो । अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट नेतृत्वको चिकित्सकको टोलीले उनको मुटुको शल्यक्रिया गरेको थियो । अस्पतालले शाहको मुटुको धमनी पूर्णरुपमा बन्द भएकाले कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपणको काम सफलतापूर्वक गरी सीसीयुमा राखिएको जनाएको छ । पारसको उपचारमा डा. भट्टसहित डा। जेपी जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न छ । पारसलाई तेस्रो पटक हृदयाघात भएको हो । यसअघि पनि उनको मुटुको नलीमा स्टेन्ट राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्