अमेरिकाद्वारा भेनेजुएलाको सरकारी तेल कम्पनीमाथि प्रतिबन्ध

काठमाडौं,माघ १५ । अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीवी।एसए माथि प्रतिबन्ध लगाएको छ ।
उसले भेनेजुएलाको सेनालाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण प्रक्रिया स्वीकार गर्न आग्रहसमेत गरेको छ ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनका सहयोगीलाई अब भेनेजुएलाका नागरिकको सम्पत्ति लुट्न दिन नहुने बताए ।
तेलमा समृद्ध भेनेजुएला पछिल्ला दिनमा आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको छ । विपक्षी राजनीतिक दलले राष्ट्रपति मदुरोलाई पदबाट हटाउने प्रयासलाई तीव्र पारेका छन् ।
अमेरिकालगायत विश्वका २० भन्दा बढी देशले विपक्षी नेता खुआन गोइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन् ।
अमेरिकी वित्तमन्त्री स्टिवेन मनुसिनले अब भेनेजुएलाको तेल बिक्रीको पैसा मादुरोको सरकारसम्म नपुग्ने बताए । उनले तेल कम्पनीले खुआन गोइदोलाई नेता मानेर प्रतिबन्धबाट बच्नसक्नेसमेत बताए ।
उनले अमेरकास्थित सहायक कम्पनी सिटगोले आफ्नो काम जारी राख्ने तर त्यसका लागि अमेरिकाकै सुरक्षित खातामा पैसा जम्मा गर्नुपर्ने बताए ।
भेनेजुएला आफ्नो तेलको बिक्रीमा अमेरिकामा निर्भर छ । भेनेजुएलामा उत्पादित ४१ प्रतिशत तेल अमेरिकामा निर्यात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्