हिमपातका कारण सामान लिन चीन पुगेका सवारी केरुङमै रोकिए, सडक ३ दिनदेखि बन्द

काठमाडौं, माघ १५ । हिमपातले सडक अवरोध भएका कारण नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामानको आयात बन्द भएको छ।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार हिमपातले चिनियाँ भू(भागको सडक ३ दिनदेखि बन्द भएको छ। जसका कारण मालसामान लिन गएका कुनै पनि मालवाहक सवारीसाधन नेपाल फर्किएका छैनन्।
३ दिनअगाडि भन्सार हातामा प्रवेश गरेका मालवाहक सवारीसाधनको सामान मात्र परीक्षण गरी काठमाडौंतर्फ पठाउन छोडपुर्जी दिने काम भने अगाडि बढेको भन्सार कार्यालयले जनाएको छ।
रसुवागढी नाकाबाट करीब ३ सय मालवाहक सवारीसाधन मितेरी पुलबाट केरूङतर्फ गएको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीले जानकारी दिए।
केरूङको बजारमा एक फिटभन्दा बढीग्लो हिमपात भएको र कोठाबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको मालसामान लिन गएका सवारी चालकले जानकारी गराएका छन्।
रसुवागढीबाट २३ किलोमिटरको दुरीमा रहेको केरूङ बजार पुग्ने अधिकांश सडकमा सवारी गुडाउन सक्ने अवस्था नरहेको सवारी चालकले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्