स्पेनिस ला–लिगा : बार्सिलोना र रियाल मड्रिड विजयी, बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं, माघ १४ । स्पेनिस ला–लिगा फुटबलमा गएराति बार्सिलोना र रियाल मड्रिडले सहज जित निकालेका छन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १० खेलाडीमा समेटिएको जिरोनामाथि २–० को जित निकाल्यो । खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सी र नेल्सनले एक–एक गोल गरे ।
गएराति भएको अर्को खेलमा रियाल मड्रिडले ईस्पानियोलमाथि ४–२ को जित निकाल्यो ।
रियालका लागि करिम बेन्जमाले दुई गोल गर्दा सर्जियो रामोस र ग्यारेथ बेलले एक–एक गोल गरे ।
खेलको अन्त्यमा राफेल भारानेले रातो कार्ड खाएपछि रियाल मड्रिड १० जनामा समेटिएको थियो ।
ला लिगाकै अन्य खेलहरुमा रियाल भालाडोलिडले सेल्टा भिगोलाई २–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले रियाल बेटिसलाई १–० ले पाखा लगायो ।
गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा २१ खेलबाट ४९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।
समान खेलबाट ४४ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको रियाल मड्रिडको ३९ अंक छ ।
प्रतिक्रिया दिनुहोस्