मौसमविद् भन्छन -आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन! पश्चिममा पानी पर्ने अनुमान, अन्य ठाउँमा कस्तो ?

काठमाण्डौ, माघ १३ । उपत्यकामा अहिले बाक्लो कुहिरो लागेको छ । शनिबार परेको पानीका कारण हावामा जलवास्पको मात्रा पर्याप्त भएकाले कुहिरो लागेको मौसमविद्ले बताएका छन् । कुहिरोका कारण भिजिविलिटी २ सय मिटरमा झरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार दिउँसो विस्तारै कुहिरो हढ्दै जानेछ । मौसमविद् रिमालका अनुसार पानी पार्ने मौसमी प्रणाली कमजोर हुँदै गएकाले काठमाण्डौमा ठूलो पानी पर्ने सम्भावना छैन । काठमाण्डौको आइतबार बिहानको न्युनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस छ ।
पानी पार्ने मौसमी प्रणाली कमजोर भए पनि पूर्ण रुपमा हट्ने सम्भावना नभएकाले आइतबार पनि देशको मध्यपश्चिम, सुदूरपश्चिमलगायतका ठाउँमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको मौसमविद् रिमालले बताए । तर अब लगातार हिमपात हुने सम्भावना भने नरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्