नेपालद्वारा यूएईसामु २४३ रनको लक्ष्य प्रस्तुत

काठमाडौ, १२ माघ । एक दिवसीय क्रिकेटमा नेपालले यूएईलाई २४३ रनको लक्ष्य दिएको छ । यूएई भ्रमणमा रहेको नेपालले दोस्रो एकदिवसीय खेलमा टस जितेर ब्याटिङ गर्दा निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २४२ रन बनाएको थियो । यसअघि नेपालले नेदरल्याण्डविरुद्ध २१६ रन बनाएको थियो ।
पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गर्दै टिमलाई बलियो शुरुवात दिलाएका थिए । ज्ञानेन्द्रले ब्यक्तिगत ४४ रन बनाउनुभन्दा अघि विनोद भण्डारी २१ रन बनाउँदै आउट भए ।

त्यसपछि क्रिजमा आएका पारस खड्का, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले भने राम्रो खेल्न सकेनन् । पारसले २१ रन बनाए भने दिपेन्द्रले १० र पवनले ८ रन जोडे ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलले नेपालको योगफलमा उत्कृष्ट योगदान गरे । उनीहरुले ८२ रनको पार्टनरसिप गरेपछि नेपाल बलियो स्थितिमा पुगेको थियो । आरिफ शेख २९ रन बनाएर आउट हुँदा नेपालले १९५ रन बनाएको थियो ।

त्यसपछि रोहित कुमार पौडेलले करियरकै पहिलो एक दिवसीय अर्धशतक बनाए । उनी अन्तर्राष्ट्रिय एक दिवसीयमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी समेत बने ।

रोहितले ५५ रनको योगदान दिएर आउट भए । त्यसपछि करण केसीले ११ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै १८ रन बनाए । अन्तिममा सन्दिप लामिछानेले पनि १० बलमा १४ रन जोडे ।

बलिङतर्फ अमिर हयात र इमरान हैदरले तीन तीन विकेट लिए भने अश्फाक अहमद, जहुर खान र मोहम्मद नाभिद ले समान एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्