अमेरिकामा ३५ दिनदेखि प्रभावित सरकारी काम सुचारु Jagaran News Published On : 26 January, 2019 3:27 am काठमाडौं, माघ १२ । अमेरिकामा ३५ दिनदेखि प्रभावित हुँदै आएको सरकारी काम अस्थायी रुपमा सुचारु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्को राजनीतिक दबाबपछि इतिहासमै लामो समयसम्म भएको कामकाज अस्थायी रुपमा सुचारु गर्न सहमति जनाएका हुन् । राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरी १५ सम्मका लागि संघीय सरकारलाई रकम उपलब्ध गराउने सहमति भएको बताए । योबीचमा दुईदलीय समितिको बैठक बसेर सीमा सुरक्षाका विषयमा विचार गरिने सहमति भएको छ । राष्ट्रपति ट्रम्पले कंग्रेससँग उचित सम्झौता नभए सरकारका काम पुनः बन्द हुने चेतावनी दिएका छन् । उनले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन कंग्रेसले बजेट उपलब्ध नगराए पुनः काम ठप्प हुने र आपतकालीन अवस्थाको सामना गर्नुपर्ने चेतावनीसमेत दिएका छन् । राष्ट्रपति ट्रम्पले बजेट निकासा नगरिदिएपछि संघीय सरकारका करिब ८ लाख कर्मचारीले विगत ३५ दिनदेखि तलव पाउन सकेका थिएनन् । कतिपय कर्मचारी अस्थायी रुपमा कामबाट निकालिएका थिए । अमेरिका र मेक्सिकोबीचको सीमामा पर्खाल लगाउन राष्ट्रपति ट्रम्पले ५ अर्ब ७० करोड डलर कंग्रेससँग माग गरेका थिए । तर सो रकम दिन डेमोक्र्याटिक सांसदहरुले अस्वीकार गरेका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्