काठमाडौं, माघ ११ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ। विगत तीन दिनदेखि लगायतार हिउँ परेपछि हिउँ परेपछि कर्णालीका हिमाली जिल्लामा जनजीवन प्रभावित भएको छ।
कर्णालीका जुम्ला, मगु, डोल्पा र हुम्लामा शुक्रबार पनि दिउँसोदेखि हिउँ पर्न थालेको छ। सुर्खेत, दैलेख, कालिकोट र जाजरकोट, सल्यान, रुकुमका केही स्थानमा भने असिना पानीसमेत परेको छ । हिमपातसँगै लगायतार वर्षा हुँदा चिसो बढेको छ।
चिसोले हिमाली जिल्लामा दैनिकी कष्टकर बनेपनि पहाडी जिल्लाका किसानहरु भने हर्षित बनेका छन्। हिउँदे बाली सप्रीने भएकाले सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोटलगायतका जिल्लाका कृषकहरु खुसी भएका छन्।
हावापानी कार्यालय जुम्लाका अनुसार जुम्ला सदरमुकाम खलंगाको तापक्रम माइनस पुगेको छ । विहानैदेखि जुम्लाका डाडाँकाडाँमा शुरु भएको हिमपात अहिले सदरमुकाममा समेत हुन थालेको छ।
‘विहानसम्म त डाडाहरुमा हिउँ परिरहेको थियो, अहिले सदरमुकाममा पनि पर्न थालेको छ’ हावापानी कार्यालयका कर्मचारी आसपुरा कार्की भनिन्,‘मंगलबार परेको हिउँ पग्लिएको थियो तर, अहिले पून पर्न थालेको छ। चिसो अत्याधिक छ।’
चिसोका कारण मंगलबार जुम्लामा एक जनाको मृत्यु समेत भएको थियो । चिसो बढेसँगै मंगलबारदेखि व्यापार व्यवसायदेखि सरकारी कामसमेत प्रभावित भएका उनले जानकारि दिइन्।
डोल्पा जिल्लाका विभिन्न भुभागमा विहानैदेखि हिमपात भइरहेको छ। जिल्ला सदरमुकाममा पानी परिरहेको छ। उपल्लो डोल्पामा सम्पर्क विहीन बनेको छ । त्यस क्षेत्रमा बालबालिका र बृद्धाबृद्ध मात्रै बसोबास गरेको स्थानीय प्रशासनले जनाएको छ।
चिसो छल्न त्यस क्षेत्रका बासिन्दाहरु सदरमुकाम वा फेदी बसाइ सर्ने गर्छन् । तर, बालबालिका र बृद्धबृद्धा भने हिड्न नसक्नेभएकाले उपल्लो डोल्पामा नै बस्न बाध्य छन् ।
चार दिनदेखि हवाई सेवा ठप्प
लगातारको हिमपातले हुम्ला जिल्लाको सिमकोट विमानस्थल अवरुद्ध भएको छ । विमान्स्थलमा तीन फिट हिउँ जमेपछि जिल्लामा आवत–जावतको एक मात्रै माध्याम हवाई सेवा अवरुद्ध भएको हो।
सोमबार रातिदेखि लगायतार परेको हिमपातले मंगलबारदेखि हवाई सेवा ठप्प भएको छ । बाह्य जिल्ला जान हवाई यातायातकै भरपर्नुपर्ने यस जिल्लामा हिमपातका कारण अवरुद्ध भएपछि जिल्ला बाहिर जाने र भित्रिने यात्रुहरु अलपत्र परेका छन्। हिमपातबाट जनजीवन प्रभावित भएसँगै स्थानीय प्रशासनले विमानस्थलको हिउँ हटाउन शुरु गरेको थियो । तर, हिमपात नरोकिएपछि विमानस्थलको हिउँ हटाउन अवरोध भएको छ।
विमानस्थलमा जमेको हिउँ आधा हटाइसके पनि पूनः हिमपात शुरु भएकाले काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। प्रशासनले हिउँ हटाउन जनपथ प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्