काठमाडौं, १० माघ । भूकम्पपछि बन्दहुँदै आएको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउने कार्य तिब्र गतिमा अगाडी बढेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल तथा सडकको निर्माण तथा मर्मत कार्य तीव्र गतिमा भएको हो । यस नाका खुलेसंगै व्यवसायीलाई राहत हुनेछ ।
चार वर्षसम्म बन्द रहेको नाका सन् २०१९ को मे १ तारिखमा खुलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव रविशङ्कर सैँजुले बताए ।
विसं २०७२ वैशाखको भूकम्प र २०७३ असारको भोटेकोशी बाढीले क्षतविक्षत बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकखण्डको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । आगामी मे १ तारिखमा नाका खुलाउने उद्देश्यका साथ दैनिक करीब एक हजार कामदारबाट युद्धस्तरमा काम भइरहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
भूकम्पले क्षतिग्रस्त मितेरी पुल साविक आठ मिटर चौडाइलाई बढाएर १२ मिटर चौडाइमा निर्माण भइरहेको छ । भोटेकोशीको कटान र पहिरोले क्षतिग्रस्त सडकको झ्याले, डामलाङ, दशकिलो, तातोपानी, कोदारी र लिपिङसहित सात स्थानमा तलबाट तार जालीसहित गाह्रो उठाइने र माथिबाट ठाउँठाउँमा भित्ता काट्ने काम भइरहेको दोभाषे मिलन शेर्पाले बताउनुभयो । काठमाडाँैबाट सबैभन्दा नजिकको नाका तातोपानी ११४ किलोमिटरको दूरीमा पर्दछ । भुकम्प अघि व्यवसायीलाई यस नाकाबाट राम्रो व्यवसाय सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्